रुग्म सहकारी
सहकारी मूल्य, मान्यता र सिद्दान्तको आधारमा निर्वाहमुखी पेशा, व्यवसायलाई व्यवस्थित गर्न वा पेशामा व्यावसायिकीकरण गर्न रुग्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको परिकल्पना गरिएको हो ।
सहकारीमा समान उद्देश्य, पेशा र व्यवसाय भएका व्यक्तिहरु आवद्द भएर पेशा तथा व्यवसाय संग सम्बन्धित समस्याहरुको सामुहिक रुपमा समाधान गर्ने प्रयास गरिन्छ । पेशा व्यवसायलाई सहज बनाउन, आधुनिकीकरण गर्न, औधोगीकिकरण गर्न, बजारीकरण गर्न, दिगोपन ल्याउन, जोखिम घटाउन, मुनाफा तथा आम्दानी बढाउन, अभिलेखीकरण गर्न तथा वैधता प्राप्त गर्न सहकारीको आवश्यकता पर्दछ ।
समान उद्देश्य, पेशा र व्यवसाय गर्ने ठुलो जनसंख्याको आवद्दताको अपेक्षा सहित सहकारी संस्थाको डिजाइन गरिएको छ । सहकारी ऐन, नियमावली, कानून, दर्ता प्रक्रिया, संचालन प्रक्रिया, अभिलेख प्रक्रिया, अपडेट प्रक्रिया र दण्ड तथा सजाय प्रक्रियाले सफल तथा विश्वाशिलो सहकारी स्थापित हुन व्यवस्थित संस्थागत संयन्त्र र सयौं सदस्यहरुको आवद्दताको अपेक्षा गरेकोछ ।
गाउँ गाउँमा सहकारीको नारा सहित स्थापित तमाम सहकारी संस्थाहरुले आवश्यकता अनुसारको संस्थागत संयन्त्र (कार्यालय, जनशक्ति, लेखा तथा प्रशासनिक प्रणाली) स्थापना वा संचालन गर्न नसकी निष्क्रिय भएका छन् भने कतिपय विघटनको कगारमा पुगेका छन् । विशेष गरि सहकारी संस्थाको स्थापना संगै सिर्जना हुने संस्था संचालन विधी, प्रक्रिया र त्यसलाई नियमित गर्न आवश्यक कार्यालय र जनशक्तिको व्यवस्थापन गर्न चाहिने लगानीको जोहो गर्न नसकी यस्तो अवस्थामा पुगेका हुन् । केहि सहकारी संस्थाहरु भने टाठाबाठाहरुले सहकारी अपडेट गर्दा सिर्जना हुने दायित्व देखाएर सोझा सदस्य तर्साउने र सहकारीको नाममा सरकार तथा विभिन्न संस्थाबाट आउने सहयोग, अनुदान पचाउने पेशाका रुपमा स्थापित हुन पुगेका छन् ।
ग्रामीण क्षेत्रमा सहकारी ऐन, नियम, मुल्य, मान्यता र उद्देश्य अनुसार विषयगत सहकारी स्थापना तथा परिचालनका लागि आवश्यक जनसंख्या उपलब्ध नहुने भएकोले सहकारीहरू स्थापना नै नहुने र स्थापना भए पनि फरक उद्देश्य भएको जनसंख्या समेत समावेश गर्नुपर्ने भएकोले सहकारीका सदस्यहरुको स्वार्थ फरक पर्नगइ उद्देश्य अनुसार कार्य गर्न नसक्ने अवस्थामा पुगेका छन् । सदस्यहरुको स्वार्थ नमिलेमा उद्देश्य अनुरुप योजना निर्माण गर्ने, कार्यन्वयन गर्ने, उपभोग गर्ने र लगानी गर्ने कुरामा चासो र सहमति नहुने भएकोले सहकारीले अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेका छैनन् । यहाँ स्वार्थ नमिल्ने भन्नुको अर्थ १० जना दुग्ध व्यवसायीहरुले दुग्ध सहकारी स्थापना गर्दा कम्तिमा २० जना गैर दुग्ध व्यवसायीलाई समेट्नुपर्ने वाध्यकारी नियम र यसरी स्थापना भएको दुग्ध सहकारीले डेरी स्थापना गर्न लगानी गर्न खोजेमा दुग्ध व्यवसायी बाहेक बाँकी २० जना सहमत नहुने अवस्था सिर्जना हुन्छ भनिएको हो । फेरी २० जनाको सहयोगमा १० जना व्यवसायीले खोलेको सहकारीले कार्यालय, विवरण राख्ने जनशक्ति, लेखापरिक्षक व्यवस्थापन गरेर नवीकरण प्रक्रिया पुरा गर्न नै मुस्किल हुन्छ भनिएको हो ।
जव एकल लगानीबाट आफ्नो पेशा तथा व्यवसाय फस्टाउनको लागि आवश्यक प्रयाप्त आधारहरु( पूर्वाधार, लगानी, प्रविधी, बजार, सुरक्षा, सहयोग) प्राप्त वा निर्माण गर्न सकिदैन, सामुहिक लगानी र साथ सहयोगको आवश्यकता पर्दछ । सामुहिक लगानी गर्न कानुनी मान्यता प्राप्त सबै भन्दा सरल, सहज र स्वतन्त्र संस्थागत विकल्प सहकारी नै हो । नेपाल सरकारले सहकारीलाई देश विकासको साझेदारको रुपमा स्वीकार गरेकोछ, साथै सहकारीहरूलाई सवल बनाउन विभिन्न चेतना मूलक कार्यक्रमहरु, प्राविधिक सहयोग तथा अनुदानहरु, आर्थिक अनुदानहरू, भन्सार कर तथा व्याज छुटहरु उपलब्ध गराउदै आएकोछ । राज्यबाट व्यवसायीहरुलाई प्राप्त हुने सहयोग, अनुदान, छुटहरु प्राप्त गर्न पनि सहकारीको आवश्यकता पर्दछ ।
समान उद्देश्य र पेशा भएका व्यक्तिहरुको विभिन्न समूह बनाई सहकारी मूल्य मान्यता तथा सिद्दान्तको आधारमा क्रियाशील हुन बहुउद्देश्यीय सहकारी संस्था उपयुक्त हुन सक्दछ ।
निश्चित भूगोलमा बसोवास गर्ने साझा उद्देश्य, पेशा, व्यवसाय, रुची र आवश्यकता भएका व्यक्तिहरुको समस्याहरु सामुहिकरुपमा समाधान गर्न संगठित सदस्यहरुको समूहलाई सहकारी भनिन्छ ।
साझा उद्देश्य, पेशा वा व्यवसाय भएका व्यक्तिहरुको आआफ्नै समूह वा विभागहरु निर्माण गरि समूहगत स्वार्थ र सामुहिक स्वार्थहरु सिद्ध गर्न सहकारी मूल्य मान्यता तथा सिद्दान्तको आधारमा क्रियाशील हुनेगरी स्थापना गरिएको सहकारी बहुउद्देश्यीय सहकारी संस्था हो । विशेष गरी आर्थिक र जनसंख्याका कारण विषयगत सहकारी संस्थाको उपयुक्त व्यवस्थापन गर्न नसकिने परिस्थितिमा उदार एवं सहकार्य गर्न सक्ने समूहहरु मिलेर बहुउद्देश्यीय सहकारी संस्था स्थापना गर्न मनासीव हुन्छ ।
एकल समाधान गर्न नसकिने पेशा तथा व्यवसाय संग सम्वन्धित समस्याहरु(पूर्वाधार, प्रविधी, बजार, जोखिम) सहकारी मूल्य मान्यता र सिद्दान्तका आधारमा समाधान गर्न, आधुनिकीकरण, व्यावसायिकीकरण, औधोगीकरणका लागि सामुहिकरुपमा प्रयास गर्न तथा सरकार र अन्य संघ संस्थाबाट सहयोग, अनुदान प्राप्त गर्न सहकारीको आवश्यकता पर्दछ ।
सहकारीलाई अपेक्षाकृत सबल, विश्वसनीय र प्रभावशाली बनाउन प्रयाप्त सदस्य संख्या, व्यवस्थित संरचनागत संयन्त्र, आधुनिक प्रविधीको उपयोग, नियमित र पारदर्शी कार्य सम्पादन जस्ता साधनहरुलाई आधारभूत सर्त वा मापदण्ड निर्धारण गर्नुपर्दछ । प्रयाप्त जनसंख्या र पूंजी नभएको ग्रामीणक्षेत्रमा यसकालागि बहुउद्देश्यीय सहकारी संस्था उपयुक्त हुन्छ ।
रुग्म अर्गनाइजेसन विकास र सम्वृद्धिका लागि विकास चक्र (इकोसिस्टम) मा विश्वास गर्दछ । रुग्म बहुउद्देश्यीय सहकारी संस्था गुजारा प्रणालीमा आधारित पेशा तथा व्यवसायहरुलाई व्यावसायिकीकरण, आधुनिकीकरण र औधोगीकिकरण गर्ने, बचतको वानी विकास गर्ने, पेशा र रोजगारी भरोसा योग्य बनाउने सुरक्षा सुनिश्चित गर्ने योजना सहितको संस्था हो ।
समूहगत स्वार्थलाई सामुहिक स्वार्थमा रुपान्तरण गर्नतिर नलागी विभागहरुलाई स्वायत्त सहकारीकै रुपमा स्वीकार गरेर समग्र संस्थाको हित र उन्नतिका लागि समुहहरुको व्यवस्थापन र परिचालन गर्नुपर्दछ ।
हाललाई सिस्ने गाउँपालिकामा स्थायी वा अस्थायी बसोवास गर्ने र सहकारी मूल्य, मान्यता र सिद्दान्त स्वीकार गर्ने कुनै पनि व्यक्तिले वेबसाइट, इमेल, फोन वा प्रयेत्क्ष सम्पर्क गरेर सदस्यताको प्रक्रिया अघि बढाउन सकिन्छ ।